भोटेकोसीमा खसेको विद्युतीय गाडी र चालकको खोजी जारी
रसुवा — चीनबाट आयात गरिएको विद्युतीय गाडी (ईभी) भोटेकोसी नदीमा खस्दा बेपत्ता भएका चालकको खोजी कार्य आइतबार बिहानदेखि पुनः सुरु गरिएको छ।
शनिबार साँझ रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित चलिमे जलविद्युत् केन्द्र अगाडिको सडकबाट गाडी भोटेकोसी नदीमा खसेको थियो। दुर्घटनामा कालिका गाउँपालिका–३ का २२ वर्षीय सविन तामाङ बेपत्ता भएका छन्।
भन्सार जाँच पास गरी काठमाडौं लैजाँदै गरिएको उक्त ईभी सडकबाट अनियन्त्रित भई नदीमा खसेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार घटनाको जानकारी पाएलगत्तै सुरक्षा निकायसहित गृहमन्त्री सुदन गुरुङ र जिल्ला सुरक्षा समितिका पदाधिकारी घटनास्थल पुगेका थिए।
शनिबार राति १० बजेसम्म दुर्घटनास्थलदेखि माथिल्लो त्रिशूली जलविद्युत् आयोजना–२१६ को ड्याम क्षेत्रसम्म ड्रोन प्रयोग गरी खोजी गरिएको थियो। तर गाडी र चालकको अवस्था पत्ता लाग्न सकेन।
अधिकारीका अनुसार आइतबार बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी र अन्य सुरक्षा निकायको टोलीले नदी क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।