तीन महिनामा ३,२९६ विपद्का घटना, १६० जनाको मृत्यु
काठमाडौं । पछिल्ला तीन महिनामा देशभर ३,२९६ विपद्का घटना हुँदा १६० जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्म दुई जना बेपत्ता, ९४५ जना घाइते र ४,३७५ परिवार प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार सबैभन्दा बढी ८९७ आगलागीका घटना भएका छन्। त्यसपछि सर्पदंशका ५१४, हुरीका ४७७, पहिरोका ४३३, चट्याङका २२३, वन्यजन्तुको आक्रमणका १८१ र बाढीका १६१ घटना दर्ता भएका छन्। यी विपद्का कारण देशभर उल्लेख्य जनधनको क्षति भएको प्राधिकरणले जनाएको छ।
वर्षायाम जारी रहेकाले बाढी, पहिरो, चट्याङ तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।