संघीय संसदअन्तर्गत तीन संसदीय समितिको बैठक आज बस्दै
काठमाडौं — संघीय संसदअन्तर्गत रहेका तीनवटा संसदीय समितिको बैठक आज सिंहदरबारमा बस्दैछ। बैठकमा शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक योजना तथा सार्वजनिक नीतिसम्बन्धी विभिन्न विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनको अवस्थाबारे छलफल गरिनेछ। छलफलका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, शिक्षा तथा खेलकुद मन्त्री, दुवै मन्त्रालयका सचिव तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई आमन्त्रण गरिएको छ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनामाथि छलफल गर्ने कार्यसूची रहेको छ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११:३० बजे बस्नेछ। बैठकमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय इतिहास विभाग, कीर्तिपुरका पदाधिकारीसँग सार्वजनिक नीति तथा सम्बन्धित विषयमा छलफल हुने कार्यक्रम रहेको छ। बैठकका लागि विभागीय प्रमुखलाई आमन्त्रण गरिएको छ।