मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध, जलविरेमा तीन सवारीसाधन ठोक्किए
सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड आइतबार बिहान पुनः सञ्चालनमा आए पनि केहीबेरमै जलविरे क्षेत्रमा भएको सवारी दुर्घटनाका कारण फेरि अवरुद्ध भएको छ।
जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेदेखि सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आज बिहान ७:१५ बजेदेखि सडक खुला गरिएलगत्तै जलविरेमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको हो।
दुर्घटनापछि सडक खुलाउने काम भइरहेको छ। सडकमा सवारीको चाप बढेकाले स्थानीय प्रशासन र ट्राफिक प्रहरीले चालकलाई लेन अनुशासन पालना गर्न, तीव्र गतिमा ओभरटेक नगर्न तथा हतार नगरी सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरेका छन्।