मिटरब्याज पीडित र सरकारबीच आज सम्झौतामा हस्ताक्षरको तयारी
काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आज सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ।
सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित रूप दिँदै औपचारिक सम्झौता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अन्तिम चरणको वार्ता सुरु भएको छ।
यसअघि बिहीबार पनि सरकारी वार्ता टोली र पीडित पक्षबीच प्रधानमन्त्री कार्यालयमा छलफल भएको थियो। सोही छलफलबाट भएको सहमतिलाई आधार बनाएर आज सम्झौतालाई अन्तिम रूप दिन लागिएको हो।
सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्य छन्।
पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरेका छन्। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी रहेका छन्।