हरिशयनी एकादशी आज: तुलसीको विशेष पूजा आराधना सुरु, चतुर्मास व्रतको शुभारम्भ
काठमाडौं — प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। आजदेखि घर–घरका तुलसी मठमा तुलसीको बिरुवा सारेर चार महिनासम्म गरिने विशेष पूजा–आराधना तथा चतुर्मास व्रतको शुभारम्भ भएको छ।
वैदिक परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको बिरुवा आज तुलसी मठमा सारिन्छ। सनातन हिन्दू धर्ममा तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गर्ने परम्परा रहेको छ। आजदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ।
धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने धार्मिक विश्वास भएकाले यस दिनलाई ‘हरिशयनी एकादशी’ भनिन्छ। भगवान् विष्णुको चार महिनाको शयन अवधिलाई ‘चतुर्मास’ पनि भनिन्छ।
हिन्दू पात्रोअनुसार वर्षभरि २४ वटा एकादशी पर्छन्। सबै एकादशीमा व्रत बस्न नसक्ने भक्तजनले चतुर्मास अवधिका आठ एकादशीमा व्रत बस्ने चलन छ। दैनिक कामकाजका कारण लामो समय व्रत बस्न नसक्नेहरूले भने हरिशयनी र हरिबोधिनी एकादशीका दिन विशेष रूपमा फलाहार गरी व्रत बस्ने गर्छन्।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंस्थित बूढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। यस दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई फलफूल, रोटी, ढिँडोलगायत फलाहार गर्ने धार्मिक परम्परा छ।
धार्मिक महत्वसँगै तुलसीको वैज्ञानिक महत्व पनि रहेको मानिन्छ। तुलसीले वातावरण शुद्ध बनाउने, अक्सिजनको मात्रा बढाउने तथा विभिन्न रोगमा औषधीय गुण प्रदान गर्ने तथ्य वैज्ञानिक रूपमा पनि पुष्टि भएको छ। तुलसी रहेको स्थानमा हानिकारक कीटाणु कम हुने र सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास समेत रहेको छ।
चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ। तुलसी–दामोदर विवाहसँगै हवन गरी चतुर्मास व्रतको समापन गर्ने धार्मिक परम्परा रहेको छ।