भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न कर्णाली प्रहरीको आग्रह
सुर्खेत — कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले सामाजिक सञ्जालमा भ्रामक सूचना तथा उत्तेजक सामग्री पोस्ट नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
उनले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, उत्तेजना बढाउने तथा शान्ति–सुरक्षामा असर पुग्ने खालका भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न अनुरोध गरेका हुन्।
डीआईजी सापकोटाले जारी गरेको सन्देशमा सुनसरीको देवानगञ्जबाट सुरु भएको विवादलाई शान्तिपूर्ण रूपमा समाधान गर्न सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै पक्षको भूमिका आवश्यक रहेको उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न र कानुनविपरीत गतिविधिबाट टाढा रहन पनि सर्वसाधारणलाई आग्रह गरेका छन्।