हिंसा र द्वन्द्वले मधेसलाई पछाडि धकेल्छ : सांसद अमरेश कुमार सिंह
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहले मधेसको समुन्नत विकासका लागि सबै वर्ग र समुदाय एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।
पछिल्लो समय मधेसमा देखिएका हिंसात्मक गतिविधि र अशान्तिप्रति लक्षित गर्दै सांसद सिंहले सामाजिक सञ्जालमार्फत पटक–पटकका आन्दोलन, जातीय तथा धार्मिक द्वन्द्वले मधेसलाई दशकौँ पछाडि धकेल्ने बताएका हुन्।
उनले हिंसा र जातीय द्वन्द्वबाट कसैको हित नहुने उल्लेख गर्दै यस्ता गतिविधिले मधेसको भौतिक संरचना, शिक्षा, व्यापार–व्यवसाय र समग्र विकासमा नकारात्मक असर पार्ने बताएका छन्।
सिंहका अनुसार पटक–पटक हुने आन्दोलन, जातीय तथा धार्मिक द्वन्द्वका कारण विकास निर्माणका काम प्रभावित हुने, शैक्षिक सत्र अवरुद्ध हुने र व्यापार–व्यवसाय ठप्प हुने अवस्था सिर्जना भएर अन्ततः मधेसवासी नै प्रभावित हुने गरेका छन्।
उनले शान्ति र सद्भाव खल्बल्याउने व्यक्ति जुनसुकै समुदाय वा वर्गका भए पनि उनीहरू मधेसको विकासका विरोधी भएको टिप्पणी गरेका छन्। त्यस्ता व्यक्तिलाई सामाजिक रूपमा बहिष्कार गर्नुपर्ने उनको भनाइ छ।
सांसद सिंहले समाजमा अशान्ति फैलाउने तत्वको पछि नलागी शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि र युवाको रोजगारी सिर्जनाजस्ता दीर्घकालीन विकासका क्षेत्रमा एकजुट हुन आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “समाजको शान्ति, सद्भाव खल्बल्याउने कुनै पनि असामाजिक तत्वको पछाडि नलाग्न सम्पूर्ण मधेसवासीमा अनुरोध गर्दछु। त्यस्ता गतिविधि गर्ने जुनसुकै समुदाय वा वर्गका भए पनि त्यो मधेसको विकासको विरोधी हो र त्यस्तालाई सामाजिक बहिष्कार गर्नुपर्छ।”