देवानगञ्ज घटनापछि सुनसरीमा निषेधाज्ञा जारी, शान्ति कायम गर्न आग्रह
सुनसरीको देवानगञ्ज घटनापछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा आज पनि कायम रहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार अवस्था सामान्य भएपछि निषेधाज्ञा हटाइनेछ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल नेतृत्वको टोलीले घटनास्थलको निरीक्षण गर्दै मृतक तथा घाइतेका परिवारसँग भेट गरेको छ। पीडित पक्षले दोषीमाथि कारबाही, मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र निष्पक्ष छानबिनको माग गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले कप्तानगञ्ज क्षेत्रमा सुरक्षा अवस्था नियन्त्रणमै रहेको जनाएको छ। स्थानीय जनप्रतिनिधिहरूले पनि सामाजिक सद्भाव कायम राख्न र संयमता अपनाउन नागरिकलाई आग्रह गरेका छन्।