कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार काठमाडौंको कुलेश्वरस्थित निवासमा निधन भएको छ। उनी प्याङ्क्रियाज (अग्नाशय) क्यान्सरबाट पीडित थिए।
श्रेष्ठले नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराएका थिए। उपचारपछि स्वदेश फर्किए पनि पछिल्लो समय उनको स्वास्थ्य अवस्था निरन्तर कमजोर बन्दै गएको थियो।
श्रेष्ठ नेपाली कांग्रेसका कार्यवाहक सभापति र उपसभापतिको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। तत्कालीन राजाको प्रत्यक्ष शासनका बेला सभापति शेरबहादुर देउवा जेलमा रहेका समयमा उनले पार्टीको नेतृत्व गरेका थिए।
पार्टीका पुराना नेतामध्ये एक मानिने श्रेष्ठलाई हालै कांग्रेस सभापति गगन थापाले केन्द्रीय समितिबाट अनुमोदन हुने गरी वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए। तर निर्णय अनुमोदन हुनुअघि नै उनको निधन भएको हो।