नारायणगढ–मुग्लिन सडक एकतर्फी सवारी सञ्चालन
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत मुग्लिन नजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ ।
पहिरोका कारण दुईतर्फी नै ठप्प बनेको उक्त सडक खण्डमा हाल एकतर्फी रूपमा सवारी साधन सञ्चालनमा ल्याइएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार बिहान पहिरो पन्छाएर आपतकालीन सेवाका सवारी साधन तथा साना सवारी साधनहरूलाई मात्र एकतर्फी रूपमा आवतजावत गर्न दिइएको छ ।
पहिरो हटाएर सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउनका लागि घटनास्थलमा ३ वटा मेसिन (स्काभेटर/डोजर) प्रयोग गरी तीव्र रूपमा काम भइरहेको छ ।
पहिरोका कारण मुख्य राजमार्गमा ठूलो संख्यामा सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन् । सडक डिभिजन भरतपुरले सडक खुलाउने प्रयास जारी रहेकाले रोकिएका सम्पूर्ण यात्रु तथा चालकहरूलाई धैर्य गरी प्राविधिक टोलीलाई सहयोग गर्न आग्रह गरेको छ ।