व्यापारी नवीन जिन्दलले घरबाटै हामफालेर आत्महत्या गरे
कपडाका थोक व्यापारी नवीन जिन्दलले आफ्नै घरको चार तला माथिबाट हामफालेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सोमबार बेलुकी उनले कामपा- ७, बौद्ध, चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोरपछाडि रहेको आफ्नै घरको बार्दलीबाट हामफालेका थिए ।
उनी कुमारीगाल बस्दै आएका थिए । हामफालेपछि उपचारका लागि उनलाई स्तुपा अस्पताल बौद्ध लगिएको थियो । तर चिकित्सकहरुले उनलाई मृत घोषित गरे ।
उनको कोठामा विष फेला परेको प्रहरीले जनाएको छ । विष सेवन गरेर हामफालेको हुन सक्ने प्रहरीले जनाएको छ ।
अग्रवालले भारतबाट कपडा आयात गरी काठमाडौंमा बिक्री गर्थे । उनको पसल बौद्धमा थियो ।
पारिवारिकस्रोतका अनुसार पछिल्लो समय व्यापारमा मन्दी आएपछि आर्थिक तनावमा थिए । उनी उच्चरक्तचाप, मधुमेह र मानसिक स्वास्थ्य (डिप्रेसन) का औषधि सेवन गर्थे ।