पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै बस्न बाध्य भएका छन्।
२०७८ साल असार २४ गतेको भीषण पहिरोले बस्ती नै विस्थापित भएपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको थियो। तर स्थायी पुनःस्थापनाको प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन।
विस्थापित परिवार अहिले हुप्सेकोट–१ जुकेपानीस्थित अस्थायी टहरामा बसिरहेका छन्। साँघुरा कोठा, सीमित पूर्वाधार र वर्षायाममा पानी तथा सर्पको जोखिमबीच उनीहरूको दैनिकी बितिरहेको छ।
पहिरोअघि खेतीपाती, घर र पशुपालनबाट जीविकोपार्जन गर्दै आएका परिवार अहिले अधिकांश दैनिक ज्याला–मजदुरीमा निर्भर छन्। पाँच वर्ष बितिसक्दा पनि स्थायी बसोबासको टुंगो नलाग्दा उनीहरूमा निराशा बढ्दै गएको छ।
हुप्सेकोट गाउँपालिकाले पुनःस्थापनाका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको जनाएको छ। तर गृह मन्त्रालयबाट आवश्यक निर्णय नआउँदा काम अघि बढ्न नसकेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्।
गाउँपालिकाका अनुसार हुप्सेकोट–५ र ६ का धेरै पहाडी बस्ती अझै पहिरो र भूक्षयको जोखिममा रहेका छन्।