नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई निगमको महाप्रबन्धकको समेत जिम्मेवारी दिने निर्णय गरेको हो।
निगममा यसअघि नियुक्त भएका पाँच जना सञ्चालक समिति सदस्यमध्ये श्रेष्ठ वरीयतामा तेस्रो स्थानमा रहेका थिए। निगमका पूर्व कर्मचारी श्रेष्ठले करिब ३४ वर्षअघि अवकाश लिएका थिए।
यसअघि निगमको सञ्चालक समिति सदस्य नियुक्तिको प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको थियो। पहिलो वरीयतामा रहेका भनिएका उपेन्द्रबहादुर कार्कीले प्रक्रिया विपरीत नियुक्ति गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले अन्तरिम आदेश दिएपछि केही समय नियुक्ति प्रक्रिया रोकिएको थियो।
पछि प्रक्रिया अघि बढाउँदै दिपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वरभक्त श्रेष्ठ, रुपा लामिछाने र लीलाराज ढकाललाई सञ्चालक समिति सदस्य नियुक्त गरिएको थियो।
तीमध्ये ७८ वर्षीय श्रेष्ठलाई सरकारले आज निगमको कार्यकारी अध्यक्षसहित महाप्रबन्धकको जिम्मेवारी दिएको हो।