सुनसरी तनाव समाधानका लागि सर्वदलीय बैठक, संयम अपनाउन अपिल गर्ने निर्णय
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले शान्ति र सद्भाव कायम गर्न संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ।
बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीलगायतका क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थालाई सामान्य बनाउन सबै दलले संयुक्त अपिल गर्ने सहमति भएको जानकारी दिए।
बैठकमा सहभागी दलका नेताहरूले संवेदनशील विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले अन्योल बढाएको भन्दै सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका छन्। आङ्देम्बेले यस्तो अवस्थामा प्रधानमन्त्रीले राष्ट्रपतिसँग समेत छलफल गरेर अघि बढ्नुपर्ने बताए।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि बैठकमा सुनसरीलगायत क्षेत्रमा देखिएको तनाव कम गर्ने विषयमा छलफल भएको जानकारी दिए। उनले भीड नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सरकारको भूमिकामाथि नेताहरूले प्रश्न उठाएको बताए।