पहिरोले सेती नदी थुनियो, पोखरामा पानीको सतह बढेपछि उच्च सतर्कता
पोखरा — निरन्तर वर्षापछि खसेको पहिरोका कारण पोखराको सेती नदी आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ को सीमास्थित रातोपैह्रो क्षेत्रमा नदी कटान भएपछि खसेको पहिरोले नदीको बहाव अवरुद्ध गरेको हो।
घटनाको जानकारी पाएलगत्तै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की तथा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले आइतबार बिहान घटनास्थलको निरीक्षण गरेको छ।
पहिरोका कारण नदीको पानी पूर्ण रूपमा निकास हुन नसकेको र थुनिएको स्थानभन्दा माथिल्लो क्षेत्रमा पानीको सतह करिब ५० मिटरले बढेको उपप्रमुख गुरुङले जानकारी दिएकी छन्।
सम्बन्धित निकायले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै नदीको अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ।