झापामा एक वर्षमा विपद्बाट ११ जनाको मृत्यु, २२ करोड ७४ लाखभन्दा बढीको क्षति
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार विपद्का घटनामा ३७ जना घाइते भएका छन्।
तथ्यांकअनुसार आर्थिक वर्षभरिमा १५६ वटा आगलागी, जंगली हात्ती तथा अन्य वन्यजन्तुको आक्रमणका ९४, हुरीका ५२, बाढी तथा डुबानका ३५ तथा चट्याङका २२ घटना अभिलेख भएका छन्।
विपद्का कारण आगलागीमा दुई जना, जंगली जनावरको आक्रमणबाट छ जना, हुरीका कारण एक जना र चट्याङ लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, विभिन्न विपद्का घटनामा आठ हजार ९१४ चौपाया तथा पशुपन्छी मरेका छन्। तीमध्ये हुरीका कारण तीन हजार २० र आगलागीका कारण पाँच हजार ६६२ पशुपन्छी हताहत भएका छन्।
आर्थिक क्षतिको हिसाबले आगलागी सबैभन्दा बढी विनाशकारी देखिएको छ। आगलागीबाट १५ करोड २२ लाख रुपैयाँभन्दा बढी तथा बाढी र डुबानबाट ६ करोड ३४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।