तीन महिनादेखि बन्द लिन्याक मेसिनले रेडियोथेरापी सेवा ठप्प, क्यान्सर बिरामी भारत जान बाध्य
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि लिन्याक (लिनियर एक्सेलेरेटर) मेसिन बन्द हुँदा रेडियोथेरापी सेवा पूर्ण रूपमा ठप्प भएको छ। सेवा अवरुद्ध भएपछि दैनिक उपचारका लागि आउने क्यान्सरका बिरामी भारतका विभिन्न अस्पताल धाउन बाध्य भएका छन्।
रेडियोथेरापी सेवा बन्द हुँदा पश्चिम नेपालसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन्। अस्पतालमा दैनिक २५ भन्दा बढी बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए। तर मेसिन बिग्रिएपछि उनीहरू भारतका बहराइच, लखनउ र दिल्लीलगायतका अस्पतालमा उपचार गराउन बाध्य छन्। सुशील कोइराला प्रखर क्यान्सर अस्पताल यी प्रदेशका बिरामीका लागि सरकारी क्यान्सर उपचारको प्रमुख केन्द्र हो।
अस्पताल प्रशासनका अनुसार मेसिन मर्मत गर्ने प्राविधिक अस्पतालमा छैनन्। मेसिन आपूर्ति गर्ने कम्पनीले बाँकी भुक्तानी नपाएको भन्दै मर्मत गर्न अस्वीकार गरेपछि सेवा पुनः सञ्चालन अन्योलमा परेको छ।
अस्पतालका अनुसार खरिद सम्झौतामा उल्लेख गरिएको एचएस कोड र कन्ट्री अफ ओरिजिनभन्दा फरक विवरण भएको मेसिन आपूर्ति गरिएकाले सप्लायर्सको बाँकी भुक्तानी रोकिएको हो। यही कारण कम्पनीले मर्मतका लागि प्राविधिक नपठाएको अस्पताल प्रशासनको भनाइ छ।
अस्पतालका कार्यकारी निर्देशक डा. निरज भराईले लिन्याक मेसिन सञ्चालनका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल भइरहेको र समस्या समाधानका लागि मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिए। मन्त्रालयबाट आवश्यक निर्णय भएपछि सेवा पुनः सञ्चालन हुने विश्वास व्यक्त गर्दै उनले रेडियोथेरापी सेवा बन्द हुँदा बिरामीले भोगिरहेको समस्याबारे मन्त्रालयलाई जानकारी गराइसकिएको बताए।
सूचना अधिकारी डा. प्रविण गुप्ताका अनुसार मेसिन मर्मतका लागि आवश्यक प्राविधिक पठाइदिन मन्त्रालयसँग आग्रह गरिएको छ। साथै रेडियोलोजी विभागका लागि प्राविधिक जनशक्ति उपलब्ध गराउन पनि अनुरोध गरिएको उनले बताए।
२०७९ पुसमा अस्पतालमा ल्याइएको उक्त लिन्याक मेसिन खरिदसम्बन्धी विवादका कारण जडान भएको तीन महिनापछि मात्रै सञ्चालनमा आएको थियो। त्यसबेला तत्कालीन निर्देशक डा. प्रकाश प्रसाद साहले भुक्तानीको आश्वासन दिएपछि सप्लायर्सले प्राविधिक पठाएर मेसिन सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ।
तत्कालीन निर्देशक डा. निरज भट्टराईको कार्यकालमा मन्त्रालयको आग्रहमा गठित छानबिन समितिले खरिद सम्झौता र भन्सार कागजातमा एचएस कोड तथा कन्ट्री अफ ओरिजिन फरक परेको स्वीकार गरेको थियो। समितिले मेसिनको गुणस्तर सञ्चालनपछि मात्रै मूल्याङ्कन गर्न सकिने उल्लेख गर्दै प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा मेसिन सञ्चालनमा आए पनि मन्त्रालयबाट अन्तिम निर्णय नहुँदा बाँकी भुक्तानी रोकिएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका अनुसार २७ करोड रुपैयाँभन्दा बढी लागतमा खरिद गरिएको उक्त मेसिनको ६० प्रतिशत रकम भुक्तानी भइसकेको छ भने आठ लाख छ हजार अमेरिकी डलर भुक्तानी गर्न बाँकी छ।