पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
चितवन — ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ।
सोमबार बिहान १७ किलो र सिमलताल नजिक लेदो तथा ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय चितवनका अनुसार पहिरो हटाएर दिउँसो ३:१५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा ल्याइएको हो।
कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर कृष्ण आचार्यका अनुसार १७ किलोमा खसेको ढुंगा र सिमलतालमा रहेको लेदोसहितको पहिरो हटाएपछि सवारी आवागमन सहज बनेको छ।
यसअघि तत्काल पहिरो पन्छाएर एकतर्फी रूपमा सडक खुलाइएको थियो। सवारी चाप कम भएपछि दुवै स्थानको पहिरो पूर्ण रूपमा हटाएर दुईतर्फी सञ्चालन गरिएको कार्यालयले जनाएको छ।