सुनसरी गोलीकाण्ड छानबिन गर्न पाँच सदस्यीय समिति गठन
काठमाडौं — सुनसरीको कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ।
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित समितिलाई सात कार्यदिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्।
घटनाबारे छलफल गर्न सोमबार अपराह्न ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बोलाइएको छ।
सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीच भएको विवाद झडपमा परिणत हुँदा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।
प्रहरीका अनुसार बोलबम यात्राका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयमा विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र हवाई फायर गरे पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रका संवेदनशील स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रशासनले कर्फ्यु लागू भएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न प्रतिबन्ध लगाएको छ। आदेश उल्लंघन गरे एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी दिइएको छ।