एलपी ग्यासको आपूर्ति नियमित, आवश्यकताभन्दा बढी जगेडा नगर्न उद्योगीको आग्रह
काठमाडौं — नेपाल एलपी ग्यास उद्योग सङ्घले बजारमा ग्यासको आपूर्ति नियमित रहेकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास जगेडा नगर्न आग्रह गरेको छ।
सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट ग्यास आयात नियमित भइरहेको छ र दैनिक करिब १०० बुलेट ग्यास आपूर्ति भइरहेको छ। उनका अनुसार हाल देखिएको अस्थायी अभाव उपभोक्ताले जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याएकाले सिर्जना भएको हो।
सङ्घका सदस्य विमल कालाखेतीले सामान्य अवस्थाजस्तै ग्यास आपूर्ति भइरहेकाले अनावश्यक मौज्दात नगरे समस्या समाधान हुने बताए।
हाल नेपालमा ५९ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन् भने बजारमा करिब एक करोड ५० लाख सिलिन्डरमध्ये ५० लाख सिलिन्डर डिपोमा रहेको जनाइएको छ।