निर्वाचन आयोगलाई संघीय ढाँचामा सुदृढ बनाउनुपर्ने एमाले सांसद दङ्गालको धारणा
नेकपा (एमाले)का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दङ्गालले निर्वाचन आयोगलाई संघीय संरचनाअनुसार प्रभावकारी बनाउँदै सूचना प्रविधिको दुरुपयोग रोक्न आवश्यक रहेको बताएका छन्।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा उनले आयोगको संगठनात्मक संरचना जिल्ला वा पालिका तहसम्म सुदृढ बनाउनुपर्ने र मतदाता नामावली अद्यावधिकलाई स्थानीय तहसम्म विस्तार गर्नुपर्ने धारणा राखे।
दङ्गालले कार्कीको कार्ययोजनामा सूचना प्रविधि, प्रशासनिक र कानुनी सुधारका पक्ष समेटिएको भन्दै प्रशंसा गरे। तर निर्वाचनमा सहभागी नभएकै आधारमा राजनीतिक दल खारेज गर्ने प्रस्तावप्रति भने उनले असहमति जनाउँदै कानुनी दायित्व पूरा नगर्ने दलका विषयमा मात्रै आवश्यक निर्णय गर्न सकिने बताए।
उनले आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल प्लेटफर्म र मिथ्या सूचनाको दुरुपयोग निष्पक्ष निर्वाचनका लागि ठूलो चुनौती बनेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न आयोगले प्रभावकारी रणनीति अपनाउनुपर्नेमा जोड दिए।