मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण अवरुद्ध
मुग्लिङ–नारायणगढ सडकखण्डमा सुक्खा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ बजार नजिकै मंगलबार बिहान पहिरो खसेपछि सडक दुवैतर्फ ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सडक विभागसँग समन्वय भइरहेको छ। हाल दुई वटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ भने थप एउटा मेसिन घटनास्थलतर्फ पठाइएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार थप पहिरो नझरेमा आगामी १ देखि २ घण्टाभित्र सडक खुलाउने लक्ष्य राखिएको छ। सडक अवरुद्ध हुँदा हजारौँ यात्रु र सवारीसाधन बीच बाटोमै रोकिएका छन्।