दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाद्वारा आत्महत्याको प्रयास, आयोजकले रोके
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सहभागी कार्यक्रममा शुक्रबार दुई जना महिलाले आत्महत्याको प्रयास गरेका छन्।
काठमाडौंको एभरेस्ट होटलमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा प्रसाईं बोलिरहेका बेला ती महिलाहरूले ‘हामीलाई बताउनुस्, नत्र आत्महत्या गर्छु’ भन्दै चिच्याएका थिए।
चिच्याउँदै र रुँदै मञ्चतर्फ अघि बढेका उनीहरूलाई आयोजकहरूले नियन्त्रणमा लिएर सुरक्षित स्थानमा लगेका थिए।
कार्यक्रममा प्रसाईंले देशको राजनीतिक तथा आर्थिक अवस्थाबारे धारणा राख्दै नेपाल भूराजनीतिक दबाबमा परेको दाबी गरेका थिए। उनले आगामी दसैँको समयमा नेपालमा विदेशी सेना आउन सक्ने अभिव्यक्ति पनि दिएका थिए।
प्रसाईंले देशको आर्थिक अवस्था गम्भीर बनेको भन्दै मुलुक कठिन परिस्थितिमा पुगेको दाबी गरेका थिए। उनले संकट बढ्दै गए आत्महत्याजस्तो चरम अवस्था आउन सक्ने टिप्पणीसमेत गरेका थिए।