देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको विभागले बताएको छ।
विभागका अनुसार शुक्रबार दिउँसो देशका हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा कोसी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा वर्षाको सम्भावना रहनेछ।