मकवानपुरमा बाढीले ट्रक बगायो, चालक सकुशल
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले गुडिरहेको ट्रक बगाएको छ। सोमबार बिहान शिवम् सिमेन्ट फ्याक्ट्री नजिकैको खोलामा आएको बाढीले ढुंगा अनलोड गरेर फर्किँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बगाएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान ७ः४५ बजे ह्युमपाइप राखेर बनाइएको कल्भर्ट (लच्का) पार गर्ने क्रममा एक्कासि पानीको बहाव बढेपछि ट्रक खोलामा खसेको थियो।
ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी ३४ वर्षीय दीपक थिङ पौडिएर ज्यान जोगाउन सफल भएका छन्। उनको खुट्टामा सामान्य चोट लागेको र उपचारका लागि चौघडास्थित राजु मेडिकल पठाइएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। बाढीले बगाएको ट्रक खोलामै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनामा अन्य कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ।