सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, इलाम–झापा सडक सम्पर्क विच्छेद
लगातारको वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड भासिएपछि आजदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको छ। सडक अवरुद्ध भएपछि इलाम, पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्क विच्छेद भएको छ भने सयौँ मालवाहक तथा यात्रुवाहक सवारीसाधन बाटोमै रोकिएका छन्।
यसअघि वैकल्पिक रूपमा प्रयोग हुँदै आएका तिल्केनी–सिमलगोला सडकको जोगमाई खोलाको डाइभर्सन र मेची करिडोरअन्तर्गत पुवा खोलाको डाइभर्सन पनि बाढीले बगाएपछि आवागमन थप प्रभावित भएको छ। सडक डिभिजनले बेलीब्रिज जडानको तयारी भए पनि आवश्यक सामग्री नआएकाले समस्या समाधान हुन नसकेको जनाएको छ। अत्यावश्यक यात्रामा रहेका सर्वसाधारण भने पहिरो प्रभावित सडकखण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन्।