बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार
बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई नेपाली सेनाले आज हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ ।
हवाई उद्धार गरिएका पाँच जनामा तीन महिला र दुई पुरुष रहेका नेपाली सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
सेनाले दिएको जानकारीअनुसार स्वास्थ्य अवस्था थप जटिल रहेका दुई पुरुषलाई नेपाली सेनाले हवाई उद्धार गरेर सुर्खेत ल्याइ स्काइ ट्रकमार्फत काठमाडौँ ल्याइएको छ । साथै सोही क्रममा अर्की एकजना बिरामी बालिकालाई पनि सुर्खेत प्रादेशिक अस्पताल पुर्याइएको छ ।
बझाङ, केदारस्यूँ गाउँपालिका—७ सुगुरेमा शनिबार भएको जीप दुर्घटनामा परी तीन जनाको ज्यान गएको थियो भने सात घाइते भएका थिए ।