राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै, सुनसरी घटनासहित समसामयिक विषयमा छलफल हुने
काठमाडौं — राष्ट्रिय सुरक्षा परिषद्को बैठक बिहीबार बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा पछिल्लो समय सुनसरीलगायत जिल्लामा देखिएको सुरक्षा अवस्थासहित समसामयिक विषयमा छलफल हुनेछ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव सदस्य रहने व्यवस्था छ।
सुनसरीको कप्तानगन्जमा दुई पक्षबीच भएको झडपका क्रममा गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्लाको अवस्था केही दिनयता तनावपूर्ण बनेको छ। सोही घटनालाई लिएर गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा मंगलबार केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बसेको थियो।
उक्त बैठकमा घटनाको अवस्था, शान्ति–सुरक्षा कायम गर्ने उपाय, गोली प्रयोगको कारणलगायत विषयमा छलफल भएको थियो। स्रोतका अनुसार गृहमन्त्री गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग गोली प्रहारको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए। घटनाबारे छानबिन गर्न समिति गठन गरी अनुसन्धान अघि बढाइएको छ।
सुरक्षा निकायका प्रमुखहरूले सुनसरीको अवस्था नियन्त्रणमा लिन बल प्रयोगभन्दा पनि धार्मिक अगुवा, राजनीतिक दलका प्रतिनिधि र स्थानीय पक्षसँग संवादमार्फत समाधान खोज्नुपर्ने सुझाव दिएका थिए।
यसअघि प्रधानमन्त्री शाहले बुधबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमाथि कडा निगरानी राख्न निर्देशन दिएका थिए।