गैंडा शिकारको योजनामा हतियारसहित दुई जनाविरुद्ध अदालतमा मुद्दा दर्ता
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एकसिङ्गे गैंडाको शिकार गर्ने उद्देश्यले हतियारसहित प्रवेश गरेका दुई जनालाई निकुञ्ज कार्यालयले नियन्त्रणमा लिई मुद्दा दायर गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणको संयुक्त टोलीले सञ्चालन गरेको ‘कोभर्ट अपरेसन’का क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
गत जेठ २३ गते नवलपुरको मध्यविन्दु नगरपालिका–०३ स्थित ब्रह्मास्थान घाटबाट कार्तोस बन्दुक १ थान, गोलीगठ्ठा तथा अन्य बन्दोबस्तीका सामानसहित निकुञ्जको कोर क्षेत्रतर्फ जाँदै गर्दा मध्यविन्दु नगरपालिका वडा नं. १ सेतोपानी बस्ने ६८ वर्षीय खड्ग नारायण चौधरी र चितवन इच्छाकामना गाउँपालिका वडा नं. ५ फुर्केडाँडा बस्ने ५२ वर्षीय टेक बहादुर मगरलाई पक्राउ गरिएको थियो।
अनुसन्धानका क्रममा जेठ २४ गते खड्ग नारायण चौधरीको घरमा खानतलासी गर्दा बाघको दाँत जस्तो देखिने आखेटोपहार ७ थान, माउजर बन्दुक १ थान, सोसँग सम्बन्धित गोलीगठ्ठा र ५०० दरका १३६ थान अर्थात् ६८ हजार भारतीय रूपैयाँसमेत बरामद गरिएको निकुञ्ज कार्यालयले जनाएको छ।
निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पक्राउ परेका दुवै जनालाई प्रतिवादी बनाई ‘संरक्षित वन्यजन्तु एकसिङ्गे गैंडा मार्ने उद्योग’ र ‘संरक्षित वन्यजन्तुको आखेटोपहार (बाघको दाँत) खरिद–बिक्री गर्ने’ कसुरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (५घ) र दफा २६ (१) बमोजिम सजायको मागदाबी गर्दै २०८३ साउन ४ गते नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता गरिएको हो।