सुनसरी हिंसाः सुरक्षा नेतृत्वको रिक्तता र गोलीकाण्डले उठायो गम्भीर प्रश्न
काठमाडौं — सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपमा सशस्त्र प्रहरीको गोली लागेर एक सर्वसाधारणको मृत्यु भएपछि सुरक्षा संयन्त्रको नेतृत्व, कमान्ड र भीड नियन्त्रणको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।
घटनामा ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने १३ सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्। झडपपछि देवानगञ्ज र हरिनगरका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ भने ३७६ जना अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।
सुरक्षा स्रोतका अनुसार सशस्त्र प्रहरी बलका आठ वटा गणका गणपतिहरूको एकवर्षे कार्यकाल सकिएपछि समयमै नयाँ सरुवा हुन नसक्दा विभिन्न संवेदनशील जिल्लामा नेतृत्व रिक्त भएको छ। सुनसरीस्थित नम्बर ४ गण इनरुवाका एसपी श्याम कार्कीलाई गत असार ३० गते मुख्यालय तानिए पनि उनको स्थानमा नयाँ गणपति खटाइएको छैन। झापामा पनि यस्तै अवस्था रहेको बताइएको छ।
सुनसरी भारतसँग जोडिएको संवेदनशील सीमावर्ती जिल्ला भएकाले तस्करी नियन्त्रण र सामुदायिक सुरक्षाका दृष्टिले अनुभवी नेतृत्व आवश्यक रहे पनि लामो समयदेखि गण कमान्डर रिक्त रहँदा त्यसको असर फिल्डमा परेको सुरक्षा अधिकारीहरूको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार राति बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको थियो। प्रारम्भिक रूपमा खटिएको सुरक्षा टोलीले स्थिति नियन्त्रणमा लिन नसकेपछि झडप उग्र बनेको थियो। दुवै पक्षबाट ढुंगा, लाठी तथा अन्य सामग्री प्रयोग भएपछि स्थिति तनावपूर्ण बनेको थियो।
झडपमा इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राईसहित नेपाल प्रहरीका आठ र सशस्त्र प्रहरीका पाँच जना घाइते भएका छन्। त्यसक्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा देवानगञ्ज–४ निवासी ओमप्रकाश मेहताको मृत्यु भएको हो।
स्थानीय तथा राजनीतिक प्रतिनिधिहरूले भीड नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग भएको आरोप लगाएका छन्। घटनास्थल पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले घाइतेमध्ये धेरैलाई शरीरको माथिल्लो भागमा गोली लागेको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन र जिम्मेवारमाथि कारबाहीको माग गरेका छन्।
उता, सुरक्षा निकायभित्र गणपतिको सरुवा र नेतृत्व व्यवस्थापनमा भएको ढिलाइले संवेदनशील क्षेत्रमा कमान्ड कमजोर बनेको र त्यसको प्रभाव सुनसरी घटनामा देखिएको सुरक्षा स्रोतहरूको भनाइ छ। यद्यपि, यस विषयमा गृह मन्त्रालय र सशस्त्र प्रहरी मुख्यालयबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
घटनापछि स्थानीय प्रशासनले थप हिंसा हुन नदिन सुरक्षा सतर्कता बढाएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।