सुनसरी घटनाबारे कोशी सरकारले बोलायो सर्वदलीय बैठक
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सुनसरीमा भएको घटनाबारे छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक दिउँसो साढे १२ बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्नेछ।
बैठकमा सुरक्षा निकाय, सुनसरीका प्रदेशसभा सदस्य तथा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी हुनेछन्। शान्ति सुरक्षा कायम गर्ने, सामाजिक सद्भाव कायम राख्ने र जनजीवन सामान्य बनाउने विषयमा छलफल हुने प्रदेश सरकारले जनाएको छ।
मुख्यमन्त्री कार्कीले भिडियो सन्देशमार्फत पनि नागरिकलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। प्रदेश सरकारका मन्त्री र सचिवहरूले घाइतेहरूको उपचार अवस्थाबारे अस्पताल पुगेर अनुगमनसमेत गरेका छन्।