धनुषामा हवाई फायरपछि दुई भारतीय लागुऔषध कारोबारी पक्राउ, ९५.५९ ग्राम खैरो हेरोइन बरामद
धनुषाको ढल्केबरमा प्रहरीले एक राउण्ड हवाई फायर गर्दै दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन्।
धनुषा प्रहरीका अनुसार लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले शुक्रबार ढल्केबरबाट जनकपुरतर्फ जाने सडकखण्डमा रिलायन्स केबल सँगै रहेको बिगे्रको पुल नजिक ब्युरोले गोली चलाएको हो । ब्युरोको टोलीसँग जम्काभेट भएपछि उनीहरू भाग्न खोजेका थिए। नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो।
प्रहरीले दुवै जनालाई पक्राउ गरी खानतलासी गर्दा उनीहरूको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।