देशभर मनसुन सक्रिय, आज भारीदेखि अति भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनको प्रभाव बढेकाले आज अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशभर बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना छ। रातिको समयमा पनि देशका अधिकांश स्थानमा वर्षा जारी रहने र केही हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने जनाइएको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव र नदी कटानको जोखिम बढ्ने भएकाले नदी तटीय तथा पहिरो प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।