बिर्तामोडमा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट
झापा — झापाको बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडमा भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार गणेश पोख्रेलको काठको दुईतले घरबाट विद्युत् सर्ट भई आगो सल्किएको थियो। आगो फैलिएर तारा अर्यालको टिनको छानो भएको एकतले घर र सुन्दर राजवंशीको टिनको छानो भएको एकतले घर पूर्ण रूपमा जलेर नष्ट भएका हुन्।
आगलागीबाट भरत पोख्रेलको एकतले घर र सारदा राजवंशीको दुईतले पक्की घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। यस्तै, दीपेन्द्रकुमार वलीको दुईतले पक्की घरको दोस्रो तलाको झ्यालमा समेत क्षति भएको छ।
बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल, स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरीले जनाएको छ।