बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित
अविरल वर्षापछि आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका नगरपालिका–९ का १३ परिवार विस्थापित भएका छन्।
सेलागाड खोला र बाउली खोलाको दोभान नजिकबाट बिहीबार राति बस्तीमा बाढी पसेपछि प्रहरीले प्रभावित परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारेको हो।
प्रहरीका अनुसार विस्थापित परिवारलाई तत्कालका लागि स्थानीयका सुरक्षित घरमा राखिएको छ। बाढीका कारण तीनवटा घर उच्च जोखिममा परेका छन्।
यसैबीच, निरन्तर वर्षा र पहिरोका कारण बाजुराका दुई स्थानमा सडक अवरुद्ध भएको छ। बडिमालिका नगरपालिका–६ र जिल्ला कारागार पछाडिको क्षेत्रमा पहिरो खसेपछि यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।