सशस्त्र प्रहरी विद्यालय हिनामिना: विशेष अदालतद्वारा १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा करिब ११ करोड रुपैयाँ हिनामिना भएको आरोपमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न विशेष अदालतले १० दिन थुनामा राख्न अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले दुवै जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको हो।
आयोगले दुवै जनामाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान अघि बढाएको छ। यसअघि नेपाल प्रहरीले उनीहरूमाथि ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेको थियो। सशस्त्र प्रहरी बलको पत्रका आधारमा उनीहरू गत असार २० गते पक्राउ परेका थिए।
यस प्रकरणमा सशस्त्र प्रहरीले आन्तरिक छानबिनसमेत गरेको थियो। छानबिनबाट इन्सपेक्टर गुरुङकै योजनामा रकम हिनामिना भएको निष्कर्ष निकालिएको बताइएको छ।
छानबिन प्रतिवेदनले विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिगबिजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डेको समेत चरम लापरबाही रहेको औंल्याएको छ। घटनाबारे अख्तियारको अनुसन्धान जारी रहेको छ।