वीरगन्ज घटनाको विरोधमा चिकित्सक सङ्घ मकवानपुरद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
चिकित्सक संघ मकवानपुरले वीरगन्ज घटनाको विरोधमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत चिकित्सक सङ्घ मकवानपुरले वीरगन्जमा भएको स्वास्थ्यकर्मी माथिको घटनाबारे ज्ञापन पत्र बुझाएको हो ।
बुधबार दिउँसो १ बजे जिल्लाभरका स्वास्थ्यकर्मीहरूलाई नेपाल चिकित्सक सङ्घ मकवानपुरको कार्यालय (हेटौँडा अस्पताल) मा जम्मा भई जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएको हो ।
वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडको विरोधमा आन्दोलनरत उक्त सङ्घले ज्ञापन पत्र बुझाउँदै आन्दाेलनको कार्यक्रमबारे सहायक प्रमुख जिल्ला अधिकारी जोशीलाई जानकारी गराएको हो ।
घटनाको विरोधमा आज बुधबार मकवानपुरका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । सङ्घले बुधबार जिल्लाभर रहेका सरकारी, गैरसरकारी, निजी अस्पताल, पोलिक्लिनिक तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ । सङ्घको यस आन्दोलनलाई विशेषज्ञ समाज, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) लगायतका स्वास्थ्य क्षेत्रका विभिन्न सङ्घ संस्थाहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।
केही दिनअघि वीरगन्जको नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमण र भौतिक क्षति पुर्याइएको थियो । घटना घटेको ४ दिन बितिसक्दा पनि दोषीलाई कानुनी कारबाही गर्नुको साटो स्थानीय प्रशासन र सरकारले उदासीनता देखाएको चिकित्सक सङ्घको आरोप छ ।
‘दोषीलाई मुद्दा दायर गरी कारबाही हुनुको साटो पीडित चिकित्सकमाथि उल्टै दमन र अन्याय गरिनु, साथै वार्तामा गएका चिकित्सकहरूमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखद्वारा दुर्व्यवहार गरिनु अत्यन्त लज्जास्पद छ’ सङ्घको भनाइ छ ।
नेपाल चिकित्सक सङ्घ मकवानपुरका सचिव डा.राजु सेढाइका अनुसार चिकित्सकहरूलाई आन्दोलनमा उत्रिन बाध्य पारेको भन्दै यसको जिम्मेवार नेपाल सरकार स्वयम् हुनुपर्नेछ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको आक्रमणका दोषीलाई तत्काल पक्राउ गरी धरौटी बिनाको जेलको व्यवस्था कडाइका साथ लागू गर्न चिकित्सकहरूले माग गर्दै आएको उनले बताए ।