कोलकत्ता- विराटनगर कार्गो रेल सेवा सुरु
भारतको कोलकत्ताबाट विराटनगर आउने रेल कार्गो सेवाको शुभारम्भ भएको छ । तेस्रो देशबाट आएको माल बस्तु बोकेर विराटनगरसम्म आउने रेल कार्गो सेवाको शुभारम्भ भएको हो ।
कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कुप्रसाद आचार्य, कोलकता भन्सार, कोलकता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले संयुक्त रूपमा हरियो झन्डा देखाई रेल कार्गो सेवाको यस सेवाको उद्घाटन गरेका हुन् ।
नेपाली महावाणिज्य दूतावासका अनुसार यो सेवा श्रावण १ गते देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। यसअघि यस्तो व्यावसायिक रेल कार्गो सुविधा वीरगन्ज नाकाका लागि मात्र उपलब्ध रहेको थियो ।
वीरगन्जपछि विराटनगरमा पनि यो सेवा सुरु भएको महावाणिज्य दूतावासले जनाएको छ । शुभारम्भ भएको कार्गो रेल सेवामा पहिलो पटक स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याइएको छ ।
कार्गो रेलबाट ४० वटा ४० फिटका उच्च क्षमताका कन्टेनरहरू जोगबनी एकीकृत भन्सार जाँच चौकी हुँदै विराटनगर आइपुग्नेछन् । यी कन्टेनरहरूमा सुरक्षाका लागि इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम समेत जडान गरिएको छ ।
यो सेवा सञ्चालनमा आएसँगै नेपालको वैदेशिक व्यापारमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। सडक मार्गको तुलनामा रेल कार्गो सुरक्षित, भरपर्दो र सस्तो हुनुका साथै करिब २४ घण्टाभित्रै मालसामान विराटनगर आइपुग्ने महावाणिज्यदूतावासले जनाएको छ ।
यो सेवा सुरु भएसँगै व्यापारीले तिर्दै आएको विलम्ब शुल्क कन्टेनर डिटेन्सन चार्ज र सडक ढुवानीको अतिरिक्त भार घट्ने उद्योग सङ्गठन मोरङले जनाएको छ ।
कार्गो रेल सेवामा विद्युतीय निगरानी प्रणाली जडान भएकाले यस बाट व्यापारीहरूले फाइदा दिने छन् । यो प्रणालीले भारतको कोलकाता, हल्दिया वा विशाखापट्टनम जस्ता बन्दरगाहदेखि नेपाली सिमानासम्म कार्गोको अवस्था र अवस्थितिको निरन्तर निगरानी गर्न सकिने महाबाणिज्यदुतावासले जनाएको छ ।