रवि लामिछानेको भारत भ्रमण: ‘विकास कूटनीति’ मा आधारित नेपाल–भारत सम्बन्धको प्रस्ताव
पाँच दिने औपचारिक भ्रमणका क्रममा भारत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक दृष्टिकोणभन्दा फरक ढंगले विकास, लगानी र व्यापार केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन्।
भारतको चर्चित दैनिक पत्रिका द हिन्दुस्तान टाइम्स मा प्रकाशित आफ्नो लेखमार्फत उनले नेपाल–भारत सम्बन्धलाई नयाँ सिराबाट अघि बढाउनुपर्ने विचार सार्वजनिक गरेका हुन्। उनका अनुसार दुवै देशबीचको सम्बन्धलाई अब “विकास कूटनीति” को आधारमा पुनःपरिभाषित गर्न आवश्यक छ।
उनले नेपालको जलविद्युत् क्षमता भारतको बढ्दो ऊर्जा आवश्यकताको स्वच्छ स्रोत बन्न सक्ने उल्लेख गर्दै दुवै देशबीच एकीकृत क्षेत्रीय ऊर्जा बजार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
त्यसैगरी, उनले सीमापार व्यापार विस्तारसँगै जनकपुर, लुम्बिनी, बोधगया र हिमाली क्षेत्रलाई जोड्ने साझा पर्यटन सर्किट निर्माण गरी अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न सकिने धारणा राखेका छन्।
लामिछानेले कृषि, स्वास्थ्य, साइबर सुरक्षा, विपद् व्यवस्थापन तथा खेलकुद क्षेत्रमा पनि नेपाल–भारत सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार दुई देशबीच कहिलेकाहीँ देखिने विवादलाई उग्र राष्ट्रवादका आधारमा होइन, प्रमाणमा आधारित संवाद र आपसी समझदारीमार्फत समाधान गर्नुपर्छ।
उनको यो लेखले नेपाल–भारत सम्बन्धलाई आर्थिक, विकासमुखी र दीर्घकालीन सहकार्यतर्फ लैजाने बहसलाई पुनः अगाडि सारेको छ।