परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण: नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता
परराष्ट्रमन्त्री शिशिर खनाल ले चीन सरकारबाट प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ रहेको बताउँदै दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउने इच्छा व्यक्त गरेका छन्।
बेइजिङमा ग्लोबल टाइम्स सँगको अन्तर्वार्तामा उनले नेपाल–चीन सहकार्यका लागि सम्पर्क सञ्जाल (कनेक्टिभिटी) र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता भएको उल्लेख गरे।
आइतबारदेखि बुधबारसम्म चीन भ्रमणमा रहेका मन्त्री खनालले भारत भ्रमणपछि भएको यो यात्रा कूटनीतिक सन्तुलन कायम गर्ने प्रयासका रूपमा पनि हेरिएको बताए। उनले नेपालले चीन र भारत दुवैलाई समान रूपमा महत्वपूर्ण साझेदारका रूपमा हेर्ने स्पष्ट पारे।
उनका अनुसार नेपालले हजारौँ वर्षदेखि दुवै छिमेकीसँग सभ्यतागत सम्बन्ध राख्दै आएको छ र वर्तमान प्राथमिकता ती सम्बन्धलाई अझ गहिरो बनाउने हो।
मन्त्री खनालले ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जालअन्तर्गत सीमापार रेलमार्ग, सडक र विद्युत् प्रसारण लाइनजस्ता परियोजनालाई प्राथमिकता दिइएको बताए। चिलिमे–केरुङ प्रसारण लाइन परियोजनाको प्रक्रिया अघि बढिरहेको र प्राविधिक अध्ययनपछि अन्तिम निर्णय हुने जानकारी पनि उनले दिए।
चीनले रेलमार्गको सम्भाव्यता अध्ययन पूरा गरिसकेको र नेपालले छिट्टै प्रतिवेदन प्राप्त गर्ने अपेक्षा गरिएको छ।
उनले यी पूर्वाधार परियोजनाले नेपाललाई भू-जोडिएको अर्थतन्त्रतर्फ लैजान, व्यापार वृद्धि गर्न र जनस्तरको सम्बन्ध विस्तार गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।
चीनको विकास अनुभवबाट सिक्दै नेपाललाई आगामी दशकभित्र मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य रहेको पनि मन्त्री खनालले बताए।