प्रतिनिधिसभा निर्वाचन विश्वका लागि अध्ययनयोग्य रहेको पूर्वप्रधानमन्त्री कार्कीको भनाइ
काठमाडौं — पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक उदाहरण भएको बताएकी छन्।
निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन कार्यक्रममा बोल्दै उनले निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ताको उदय भएको उल्लेख गरिन्। जनताले दिएको मतको सम्मान गर्दै निर्वाचित प्रतिनिधिहरूलाई काम गर्ने वातावरण प्रदान गर्नुपर्नेमा उनले जोड दिइन्।
“निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ। जनताले दिएको मतको सम्मान गर्दै उनीहरूलाई काम गर्न दिनुपर्छ,” कार्कीले भनिन्।
उनले निर्वाचन सफल बनाउन तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सबै पक्षको समन्वयले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइन्।
कार्यक्रममा पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले चुनौतीपूर्ण परिस्थितिका बाबजुद सरकार, निर्वाचन आयोग र सरोकारवालाहरूको सहकार्यमा कुनै हिंसात्मक घटनाविना निर्वाचन सम्पन्न भएको उल्लेख गरे।
त्यसैगरी पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले पछिल्लो समय देखिएको जेन–जी आन्दोलनको भावनाअनुसार सुशासन, राजनीतिक संस्कार तथा राष्ट्रिय स्थायित्वलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए।
कार्यशालामा सहभागी वक्ताहरूले लोकतान्त्रिक प्रक्रियालाई अझ सुदृढ बनाउन निर्वाचन प्रणालीको निरन्तर समीक्षा र सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।