विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने सरकारको तयारी
काठमाडौं, बिहीबार — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वसनीय बनाउन आवश्यक कानुन निर्माणको तयारी भइरहेको बताएका छन्।
सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री पोखरेलले यस्तो बताएका हुन्।
उनका अनुसार मुलुकको राष्ट्रिय प्रयोगशालालाई नियमन गर्दै आधुनिक, अन्तर्राष्ट्रिय मापदण्डअनुसार विश्वसनीय बनाउने उद्देश्यले सरकारले विशेष विधेयक अघि सारेको हो।
मन्त्री पोखरेलले सबै प्रयोगशालालाई एकै ठाउँमा नियमन गर्ने नभई छुट्टै राष्ट्रिय प्रयोगशालालाई व्यवस्थित गर्न यो विधेयक ल्याइएको स्पष्ट पारे।
अपराध अनुसन्धान र न्याय सम्पादनका लागि आवश्यक प्रमाण सङ्कलन तथा परीक्षणलाई वैज्ञानिक विधिबाट प्रभावकारी बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशाला आवश्यक भएको उनले बताए।
उनले विधेयकका प्रावधानहरूमा पर्याप्त छलफल गर्दै सुधारका साथ अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।
बैठकमा समिति सदस्यहरूले प्रयोगशालालाई आधुनिक प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिएका छन्। समितिले विधेयकलाई अघि बढाउनुअघि विज्ञहरूसँग थप छलफल गर्ने निर्णय गरेको छ।