आर्थिक विधेयकमा हेराफेरि भएको आरोप, अर्थमन्त्रीमाथि प्रश्न
काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटसँगै प्रस्तुत गरिएको आर्थिक विधेयकमा पटक–पटक हेराफेरि गरेको आरोप सार्वजनिक भएको छ।
आरोपअनुसार जेठ १५ गते संसदमा बजेटसँगै प्रस्तुत गरिएको आर्थिक विधेयक अर्थ मन्त्रालयले वेबसाइटमा सार्वजनिक गरेपछि त्यसमा दुई पटकसम्म परिमार्जन गरिएको देखिएको दाबी गरिएको छ।
स्रोतका अनुसार पहिलो पटक ४६१ पृष्ठ र पछि ४५९ पृष्ठको विधेयक वेबसाइटमा अपलोड गरिएको थियो भने हाल ४५० पृष्ठको मात्र विधेयक उपलब्ध छ। ती संस्करणहरूबीच कर संरचना, हरित कर, विद्युतीय सवारी साधनमा लाग्ने कर तथा एचएस कोड सूचीलगायतका विषयमा परिवर्तन भएको दाबी गरिएको छ।
आर्थिक विधेयक संसदमा प्रस्तुत भएपछि त्यसमा परिवर्तन गर्ने अधिकार मन्त्रिपरिषद्को निर्णयमार्फत मात्र हुने कानुनी व्यवस्था रहेको भन्दै विज्ञहरूले प्रश्न उठाएका छन्। तर अहिलेसम्म यस्तो परिमार्जनबारे औपचारिक निर्णय सार्वजनिक नभएको बताइएको छ।
यसबारे अर्थ मन्त्रालय वा सम्बन्धित पक्षबाट आधिकारिक प्रतिक्रिया भने आएको छैन।