कोरला नाकाबाट १३ अर्बभन्दा बढी राजस्व सङ्कलन, करिब ३ हजार इभी नेपाल भित्रिए
मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको जेठ १६ गतेसम्म १३ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
गत भदौदेखि पूर्ण सञ्चालनमा आएको नेपाल–चीन उत्तरी कोरला नाकामार्फत चीनबाट आयात भएका विद्युतीय सवारीसाधन (इभी), लत्ताकपडा, कस्मेटिक तथा इलेक्ट्रोनिक सामग्रीबाट उक्त राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ।
भन्सारका अनुसार सो अवधिमा नेपालबाट चीनतर्फ हस्तकला तथा स्वदेशी उत्पादन निर्यात हुँदा २० करोड ५५ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।
कोरला नाकाबाट हालसम्म दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। इभी आयातबाट मात्रै ६ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी राजस्व प्राप्त भएको जनाइएको छ।
यता, पछिल्लो समय कोरला नाकाबाट आयात गरिएका ६४९ वटा इभीको भन्सार प्रक्रिया विवादमा तानिएको छ। सरकारले आयात प्रक्रियामा कुनै अनियमितता भए–नभएको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। समितिले मुस्ताङ, पर्वत र कास्कीका विभिन्न स्थानमा राखिएका सवारीसाधनको अनुगमनसमेत सम्पन्न गरिसकेको छ।