रूस–युक्रेनबीच १६०–१६० युद्धबन्दी आदान–प्रदान
रूस र युक्रेनबीच शुक्रबार १६०–१६० जना युद्धबन्दी सैनिकको आदान–प्रदान भएको छ। रूसी रक्षा मन्त्रालयका अनुसार युक्रेनबाट १६० जना रूसी सैनिक स्वदेश फर्किएका छन् भने बदलामा १६० जना युक्रेनी युद्धबन्दीलाई रिहा गरिएको छ।
सन् २०२२ मा युद्ध सुरु भएयता युद्धबन्दी र सैनिकका शव फिर्ता गर्ने प्रक्रिया दुवै पक्षबीच जारी रहेको सीमित सहकार्यको एक क्षेत्र बनेको छ। यसपटकको आदान–प्रदानमा संयुक्त अरब इमिरेट्स (यूएई)ले मध्यस्थताको भूमिका खेलेको रूसी पक्षले जनाएको छ। युक्रेनले भने यसबारे तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।