खाडी क्षेत्रमा जहाजमाथि आक्रमणपछि तनाव बढ्यो, इरानले अमेरिकामाथि गम्भीर आरोप
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उक्त आक्रमणलाई अमेरिकाको ‘हतियारबन्द लुट र समुद्री डकैती’ नीतिको उदाहरण भएको बताएका छन्। उनले ज्यान गुमाएका नाविकका परिवारप्रति समवेदना व्यक्त गर्दै भारत सरकार र जनताप्रति गहिरो दुःख प्रकट गरेका छन्।
बकाईले अन्तर्राष्ट्रिय समुदायलाई अमेरिकाको कथित गैरकानुनी गतिविधिप्रति जवाफदेही बनाउन आग्रह गर्दै यस्ता कदमले विश्व शान्ति, सुरक्षा तथा समुद्री आवागमनको स्वतन्त्रतामा खतरा उत्पन्न गरेको बताएका छन्।
अमेरिका–इरानबीच बढ्दो तनावका बीच पछिल्ला चार दिनमा भारतीय चालक दल रहेका तीन जहाजमाथि आक्रमण भएको जानकारी सार्वजनिक भएको छ।
जुन ८ मा एमटी मारिभेक्स जहाजमाथि आक्रमण हुँदा त्यसमा २४ भारतीय नाविक सवार थिए। उनीहरूलाई पछि ओमानस्थित भारतीय दूतावासको समन्वयमा सुरक्षित उद्धार गरिएको थियो।
त्यसैगरी जुन १० मा एमटी सेटेबेलो जहाजमाथि भएको आक्रमणमा २४ चालक दलमध्ये तीन जनाको मृत्यु भएको थियो भने बाँकी २१ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको जनाइएको छ।
जुन ११ मा एमटी जलवीर जहाजमाथि पनि आक्रमण भएको सूचना सार्वजनिक भएको छ। उक्त जहाजमा २० भारतीय चालक दलका सदस्य सवार रहेका थिए, तर हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
यस घटनापछि खाडी क्षेत्रमा समुद्री सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय स्तरमै चिन्ता बढेको छ।