विपक्षी दलहरूको बैठकमा श्रमसंस्कृति पार्टी पनि सहभागी, राजनीतिक मोर्चा विस्तार
काठमाडौँ — नेपाली कांग्रेसको आयोजनामा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकमा श्रमसंस्कृति पार्टी पनि सहभागी भएको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बोलाएको बैठकमा श्रमसंस्कृति पार्टीका सांसद आरेन राई र ध्रुवराज राई सहभागी भएका छन्।
बैठकमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारततर्फ जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल भइरहेको छ।
यसअघि विपक्षी मोर्चामा नरहेको श्रमसंस्कृति पार्टी पहिलो पटक औपचारिक रूपमा बैठकमा सहभागी भएको हो। आइतबारको विवादास्पद अभिव्यक्तिपछि राष्ट्रिय हितविपरीत टिप्पणी भएको भन्दै विपक्षी दलहरू एकजुट भएको बताइएको छ।
बैठकमा कांग्रेस, एमाले, नेकपा, राप्रपा तथा अन्य दलका शीर्ष नेताहरू सहभागी छन्।
यसअघि सरकारद्वारा संसद् छलेर अध्यादेश ल्याएको विषयदेखि नै विपक्षी दलहरू असन्तुष्ट रहँदै आएका थिए। पछिल्लो घटनापछि विपक्षी मोर्चा थप सुदृढ भएको नेताहरूको भनाइ छ।