सरकारले सार्वजनिक गर्यो हड्ताल गर्न नपाइने क्षेत्रको सूची
काठमाडौं । सरकारले बन्द तथा हड्ताल गर्न नपाइने आवश्यक सेवाका क्षेत्रहरूको सूची सार्वजनिक गरेको छ।
सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गत केही सेवाहरूमा हड्ताल गर्न निषेध गरिएको जनाएको हो।
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै सरकारले सार्वजनिक हित र अत्यावश्यक सेवाको निरन्तर सञ्चालन सुनिश्चित गर्न उक्त निर्णय गरेको जनाएको छ।
सरकारका अनुसार अत्यावश्यक सेवा प्रभावित हुँदा जनजीवन, सुरक्षा, स्वास्थ्य तथा सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने भएकाले ती क्षेत्रमा बन्द तथा हड्ताल गर्न नपाइने व्यवस्था लागू गरिएको हो।
राजपत्रमा प्रकाशित सूचीअनुसार सम्बन्धित आवश्यक सेवाका क्षेत्रहरूमा कार्यरत कर्मचारी तथा निकायहरूले हड्ताल गर्न नपाउनेछन्। सरकारले सार्वजनिक सेवाको अवरोध रोक्न र नागरिकलाई नियमित सेवा उपलब्ध गराउन यो कदम चालिएको जनाएको छ।