उपकुलपति बन्न ११३ जनाको आवेदन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा बढी आकांक्षी
काठमाडौं । विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदका लागि कुल ११३ जनाले आवेदन दिएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत प्रतिष्ठानका उपकुलपति छनोट तथा सिफारिस समितिको सचिवालयले सोमबार सूचना जारी गर्दै अनलाइन माध्यमबाट प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सबैभन्दा बढी २६ जनाको आवेदन परेको छ। त्यसपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का लागि २४, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७ तथा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १६ वटा आवेदन प्राप्त भएका छन्।
यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सबैभन्दा कम ११ जनाले आवेदन दिएका छन्।
उपकुलपति छनोट प्रक्रिया अगाडि बढेसँगै विभिन्न प्रतिष्ठानको नेतृत्व सम्हाल्न इच्छुक उम्मेदवारबीच प्रतिस्पर्धा बढेको देखिएको छ। छनोट तथा सिफारिस समितिले आवेदनहरूको मूल्यांकनपछि योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्नेछ।